२०८२ भाद्र ९ | Aug 25, 2025

फ्रि वाइफाइमाथि कडाइ गर्दै सरकार

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १३

ललितपुर । मोबाइल सेवा प्रदायक कम्पनीहरुको आम्दानीमा दिनप्रतिदिन गिरावट आउन थालेपछि सरकारले फ्रि वाइफाइमाथि कडाइ गर्ने संकेत देखाएको छ । पछिल्लो समय विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सार्वजनिक स्थलहरुमा फ्रि वाइफाइ हटस्पट छाड्न थालेका छन् । एनसेलको डेटा खपतमा असर परेको भन्दै गुनासो आउन थालेपछि सरकारको ध्यान त्यसतर्फ गएको हो ।

यस्तै इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले मात्र देशभर २५ हजार भन्दा धेरै ठाउँमा फ्री वाईफाइ हटस्पट छाडेको छ । यस्तो वाइफाइका कारण नेपाल टेलिकम, एनसेलको डेटा खपतमा असर परेको सेवाप्रदायकहरुबाट गुनासो आएपछि प्राधिकरणले जथाभाबी वाईफाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकहरूमाथि कारबाहीको चेतावनी दिएको हो ।

हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत केही सेवा प्रदायकहरूले वाई–फाई हटस्पट सञ्चालन गरेको भन्दै प्राधिकरणले साउन ११ गते एक सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले आइतबार जारी गरेको उक्त सूचनाअनुसार आधारभुत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभुत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायक कम्पनीहरूले मात्रै वाई–फाईको माध्यमबाट सिमलेस कनेक्टिभिटी(रोमिङ) मोबिलिटी प्रदान गर्न सक्नेछन् । तर, यीबाहेक अन्य लाइसेन्स प्राप्त सेवा प्रदायकहरूले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका शर्तअनुसार मात्रै वाईफाई हटस्पट सेवा सञ्चालन गर्न प्राधिकरणले सचेत गराएको छ ।

नेपालमा प्राधिकरणबाट आधारभुत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ भने मोबाइल टेलिफोन सेवाको लाइसेन्स एनसेल र टेलिकम दुवैले पाएका छन् ।

यसैगरी विनियमावलीको विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाई–फाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, विनियम ५ ९१० अनुसार एक पटकको लग–इनबाट निश्चित समयावधि वा मात्राका लागि वाई–फाई हटस्पट सेवा प्रयोग गर्नसक्ने व्यवस्था छ । तर इन्टरनेट सेवा प्रदायकहरूले यी प्रावधान उल्लघंन गरेको प्राधिकरणले निष्कर्ष निकालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement