
रौतहट । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि शनिबार हुने २८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटाको पक्षमा व्यवसायीहरूको समर्थन बलियो हुँदै गएको छ। संघको नव निर्मित भव्य भवनमै हुने अधिवेशनमा सापकोटालाई नै पुनः अध्यक्षमा निरन्तरता दिनुपर्ने आवाज व्यापारी समुदायबाट व्यापक रूपमा उठेको छ।
व्यापारीका हक र हितको संरक्षण गर्दै उल्लेखनीय कार्य गर्दै आएका सापकोटाको कार्यकालमा संघले ऐतिहासिक प्रगतिहरू गरेको बताइन्छ। संघको आफ्नै भवन निर्माण सम्पन्न गर्नु, सदस्य व्यापारीहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्नु, नीतिगत सुधारमा पहल गर्नु लगायतका कामले उनलाई व्यापारीको मन जित्न सफल बनाएको छ।
ुुसापकोटाले संघलाई एउटा संस्थागत आकार दिएका छन्। उनको नेतृत्वमा फेरि केही बाँकी कामहरू सम्पन्न गर्नु आवश्यक छुु व्यवसायी शिवराम राउत भन्छन्, “यसैले हामी सकेसम्म सर्वसम्मत उनकै नेतृत्व चाहन्छौं।”
स्पष्ट वक्ता, दूरदर्शी नेतृत्व क्षमता तथा राजनीतिक, प्रशासनिक र व्यवसायिक क्षेत्रसँगको राम्रो समन्वय सापकोटाको विशेषता मानिन्छ। यही कारणले उनलाई भिजिनरी लिडरुका रूपमा व्यापारी समुदायले मूल्यांकन गर्दै आएको देखिन्छ।
यद्यपि, अधिवेशनमा पूर्व महासचिव सुनिल कुमार साहले पनि अध्यक्ष पदमा दाबी गरेका छन्। कांग्रेस र एमाले निकट नेताहरूको समेत समर्थन पाएको भनिएका साहले संघमा फेरबदल ल्याउने भन्दै उम्मेदवारी घोषणा गरेका हुन्। तर उनी महासचिव पदमा रहेकै बेला संघको उत्थानमा खास योगदान नदिएको भन्दै स्थानीय व्यवसायीहरूको उनले तिब्र आलोचना झेलिरहेका छन्।
“साहले महासचिव हुँदा खास केही गरेको सम्झना छैन। यसपालि संस्थागत निरन्तरताको पक्षमा जानु उपयुक्त हुन्छ,ुु चन्द्रनिगाहपुरका व्यवसायी दिपक न्यौपानेले बताए।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको यो अधिवेशन संघको इतिहासमै महत्वपूर्ण मानिएको छ। संघका नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर व्यवसायीहरूको हक संरक्षण गर्ने कामलाई निरन्तरता दिने नेतृत्व को आउने भन्ने चासो व्यापारीहरूमा चुलिएको छ।
शनिबार हुने अधिवेशनमा अधिकांश व्यवसायीहरूको समर्थन सापकोटा नेतृत्वको टिमलाई प्राप्त हुने अनुमान गरिएको छ। यदि कुनै सहमति हुन सकेन भने प्रतिस्पर्धा स्वाभाविक हुने बताइएको छ।
संघले आगामी कार्यकालमा आर्थिक क्षेत्रको सुदृढीकरण, युवा उद्यमशीलता प्रवर्द्धन तथा संघ–सरकार–व्यवसायीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्ने तयारी गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया