२०८२ भाद्र ७ | Aug 23, 2025

मधेस प्रदेश सरकारले एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८

धनुषा । धान रोपाईँको समयमा खडेरीको मारमा परेका मधेस प्रदेशका जनतालाई प्रदेश सरकारले एक हजार २०० स्यालो ट्युबेल वितरण गर्दैछ । मधेश सरकारले सुक्खाग्रस्त क्षेत्रका किसानका लागि रु. १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया अगाडि बढाएको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत यस प्रदेशका आठवटै जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण गर्न लागेको हो ।

प्रदेशका यी धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लामा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा अहिलेलाई एक हजार २०० स्यालो ट्युबवेल वितरण गरिने लागेको मन्त्रालयले जनाएको छ ।

खर्चका हिसावले हेर्ने हो भने एउटा स्यालो ट्युबवेल जडान गर्न रु. एक लाखदेखि रु. तीन लाखसम्म खर्च हुने अनुमान गरिएको छ भने सोलार जोड्दा अझ खर्च थपिने छ । मन्त्रालयका अनुसार ट्युबवेल जडान गर्दा पानीको सतह कति छ त्यसको आधारमा खर्च लाग्ने छ ।

स्यालो ट्युबेल जडानका लागि सूचना जारी भएसँगै अहिले कृषि ज्ञान केन्द्र धनुषामा ट्युबवेल जडानका लागि आवेदन दिने किसानको घुइँचो लागेको छ । केन्द्रका कृषि प्राविधिकहरुका अनुसार साउन १६ गतेसम्म एक हजार १०० भन्दा बढी आवेदन परिसकेको छ । आइतबारसम्म निवदेन बुझाउने समय रहेकोले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

उपलब्ध गराउने भनिएको ट्युबवेलभन्दा पनि धेरैको सङ्ख्यामा निवेदन परेको छ । त्यसैले प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । यस वर्ष पर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया