२०८२ फाल्गुन ६ | Feb 18, 2026

मुख्यमन्त्री लामाले दिए पदबाट राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८
|
357 views


ललितपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आज साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका छन् । भोलि प्रदेश प्रमुख हेटौँडा गएपछि राजीनामा पत्र बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिएका छन् । 

यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन् । 

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पार्टीभित्रको बृहत् छलफलपश्चात् राजनीतिक मूल्य, मान्यता स्थापित गर्न उचित ठानेर पार्टी सभापतिले आपसी समझदारीमा सरकार सञ्चालन गर्नेगरी मार्ग प्रशस्त गर्न भनेकाले आफूले राजीनामा दिन लागेको बताएका थिए । उनले नवनिर्वाचित पार्टी संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्रीका रुपमा आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवादज्ञापन गर्दै मुख्यमन्त्री लामाले    तहगत सरकार र प्रदेशसभामा प्रतिनिधत्व गर्ने सबै दलसँग प्रभावकारी समन्वयमार्फत प्रदेशवासीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशातर्फ सरकार उन्मुख रहेको उल्लेख गरे । गत वर्षको बाढी र पहिरोबाट सिर्जित विपद्को सामना र पुनर्निर्माणमा सीमित स्रोत र साधनको बाबजुद प्रदेशको बलियो उपस्थिति जनाएको उनको जिकिर थियो । 

आफूले इमान्दारितापूर्वक काम गरे पनि प्रदेश सरकार अचानक ढाल्ने प्रपञ्चले स्थिरता र स्थायित्वको प्रतिबद्धतामाथि प्रश्न उठेका मुख्यमन्त्री लामाको भनाइ छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया