
ललितपुर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ । फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवासुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो ।
फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारीले तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन् । चौबीसैँ घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन् ।
कर्मचारीको धर्नाका कारण विशेष गरी प्रतिष्ठानको फार्मेसीमार्फत दिइँदै आइएको स्वास्थ्य बिमाअन्तर्गतका औषधि रोकिएका छन् । औषधि नपाएपछि बिरामी तथा तिनका आफन्तहरू निजी फार्मेसीमा गएर महँगो मूल्य तिर्न बाध्य भएका हुन् ।
प्रतिष्ठानको फार्मेसी सेवा निजी आपूर्ति कम्पनी केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालन हुँदै आएको छ ।तलब तथा सेवासुविधाको माग गर्दै पटकपटक मौखिक र लिखित रूपमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताएका छन् । वर्षौंदेखि सेवा दिँदै आए पनि नियमित तलब उपलब्ध नहुँदा परिवारको खर्च चलाउन समस्या भइरहेको भन्दै तलब नआएसम्म काममा फर्किने अवस्था नरहेको आन्दोलनमा सहभागी कर्मचारीहरूले बताएका छन् ।
विसं २०७० मङ्सिर ८ गते केटिएम सर्भिसेजसँग तीन वर्षका लागि सेवा सम्झौता गरिएको थियो । पछि सो सम्झौताको म्याद थप गरी सेवा निरन्तरता दिइएको थियो । सम्झौताअनुसार कुनै कर्मचारीले सेवा अवरोध गरेमा २४ घण्टाभित्र वैकल्पिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारद्वारा जारी गरिएको विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा अवरोध गर्नु प्रचलित कानुनविपरीत भएको उल्लेख छ । विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र धर्ना, हडताल, तालाबन्दीजस्ता गतिविधि गर्न कानुनले अनुमति नदिएको स्मरण गराउँदै सेवा तत्काल सुचारु गराउन आपूर्ति कम्पनी केटिएम सर्भिसेजलाई आग्रह गरिएको छ ।
प्रतिष्ठानले यस्तो घटनाले बिरामीको स्वास्थ्य सेवामा प्रतिकूल असर पु¥याएको र संस्थाको छवि समेत प्रभावित भएको जनाउँदै शीघ्र समस्याको समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया