२०८२ भाद्र ६ | Aug 22, 2025

भारतको उत्तरकाशीमा आएको बाढीले १०० भन्दा बढी बेपत्ता भएको आशंका

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१

उत्तरकाशी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा हिजो (मंगलबार) राति परेको अत्यधिक वर्षा पश्चात् एकाएक आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको पुष्टि भएको छ भने १०० भन्दा बढी मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ।

उत्तरकाशीको स्थानीय प्रशासनका अनुसार उक्त क्षेत्रमा भारी वर्षा पछि एकाएक बाढी आएको थियो । त्यसपश्चात् साना खोला तथा नालाहरूमा पानीको बहाव बढेको थियो, जसले पहाडी क्षेत्रमा ठूला पहिरो निम्त्यायो।

बुधबार मध्यान्नसम्मको समयमा धेरै घरहरू बगाइसकिएको जनाइएको छ र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।

टेलिभिजन फुटेजमा हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरिरहेको देखिएको छ। हालसम्म खोज तथा उद्दार कार्य तीव्र रूपमा जारी रहेको छ। प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ।

प्रशासनले आगामी दिनमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। पूरै क्षतिको मूल्याङ्कन भइरहेको छ र थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया