
ललितपुर । आज साउनको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ । साउन महिनाभरि त्यसमा पनि विशेष गरेर सोमबारको दिन पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लाग्ने गदैछ ।
आज भने पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । अन्य विशेष पर्वमा जस्तै पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउनको सोमबारलाई लक्ष्यित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । यस वर्षको साउनको पहिलो सोमबारदेखि चक्रपथमा चार वटा बस भक्तजन ल्याउन चलाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया