
ललितपुर । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न भएको छ । साउन २१ गते सुरु भएको एक्स्पो साउन २६ गते विशेष कार्यक्रमका साथ सम्पन्न भयो । ६ दिनसम्म चलेको उक्त एक्स्पो एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गरे ।
पहिलोपटक सर्वसाधारणका लागि खुला रहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए ।
एक्स्पोमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानीयतहका जन प्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी,अटोमोबाइल क्षेत्रका अग्रजव्यक्ति, कुटनितिक नियोगक पदाधिकारी तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोमबार साँझ समापन गरिएको कार्यक्रमको समापन समामरोहमा बोल्दै नाइमाका अध्यक्ष रितु सिंह बैद्यले एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरुको सामुहिक योगदानले एक्स्पो सफल भएको दाबी गरिन् ।
अध्यक्ष बैद्यले भनिन्, “यो पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समापन कार्यक्रममा उभिँदा, म अत्यन्त उत्साहित छु । तपाईंहरूले यो एक्स्पोलाई साँच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो । एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईंहरू प्रत्येकले देखाउनु भएको ऊर्जा, विचार, सहकार्य र जोश देख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकाश गरेको अनुभव भएको छ ।”
यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाईका सत्रहरु संचालन गरी नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह गरेको वताएका थिए। यी सत्रहरु सहभागिहरुका लागि निःशुल्क प्रवेश सहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्ध प्रतिष्ठित विज्ञहरुको सहभागीतामा संंचालन गरिएको थियो ।
सवारी साधनमात्रै प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पो–नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५मा पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन तेह्र हजार पाँच सय, तेश्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँच सय, पाँचौ दिन बाइस हजार र छैठौँ दिन सात हजार आठ सय दर्शकहरुले अवलोकन गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया