२०८२ श्रावण २८

ललितपुर । सङ्घीय संसद् अन्र्तगत आज प्रतिनिधिसभाको बैठक सहित अन्य चार संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक भने अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
आजको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको समेत बैठक बस्दैछ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना र सो को प्रभाव र समस्या समाधानका उपायहरुबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ ।
यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षको ६२औँ प्रतिवेदनमा समेटिएका मूलभूत पक्षका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया