२०८२ भाद्र ६ | Aug 22, 2025

को हुन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २८

ललितपुर ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा नियुक्त भएका डा बुद्धि पौडेलले आज बुधवार नियुक्ति पत्र बुझेका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा पौडेलसँगै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठ ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राडा पुजन कुमार रोकाया  र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरत खत्रीले नियुक्ति पत्र बुझेका हुन् । नव नियुक्त चार उपकुलपतिहरु मध्य तीनजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ र  एकजना इन्टरनल मेडिसिन विशेषज्ञ हुन् ।  अर्थोपेडिक्स विभागका प्रमुख र रेक्टरको रूपमा पनि काम गरिसकेका बीपीका उपकुलपति श्रेष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ हुन् ।

 त्यसैगरी अस्पताल निर्देशकका रुपमा ४ वर्ष काम गरिसकेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति खत्री पनि हाडजोर्नी विशेषज्ञ हुन् । यस्तै अस्पताल निर्देशकका रुपमा पनि काम गरिसकेका र विगत १२ वर्षदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत सह प्राडा रोकाया पनि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा पौडेल वरिष्ठ आन्तरिक चिकित्सा विशेषज्ञ (इन्टरनल मेडिसिन) र नेपालका अग्रणी बाथरोग विशेषज्ञ हुन् । प्रा.डा. पौडेलको भोलि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनले पदभार ग्रहण कार्यक्रमको तयारी गरेको छ । नेपालको चिकित्सा सेवा र शिक्षाको क्षेत्रमा स्थापित नाम प्रा.डा. पौडेलको यो यात्रा, बिदेशोन्मुख युवा चिकित्सकहरूलाई स्वदेशमै रहेर स्वास्थ्य सेवा प्रदान गर्नको लागि प्रेरणाको श्रोत पनि हो  ।  आउनुहोस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति प्रा.डा पौडेललाई नजिकबाट चिनौँ  ।

आधारभूत स्वास्थ्य कार्यकर्ता (सीएमए) देखि उपकुलपतिसम्म

जन्म – बि. सं २०२५ साल फागुन १४ गते रुपन्देही साधारण किसान परिवार, सानै देखिको लक्ष्य – दक्ष चिकित्सक भएर देश र जनताको सेवा गर्ने   ।

शिक्षा – स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा   ।

शैक्षिक यात्रा:

– त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत तानसेन स्थित सीएमए क्याम्पसबाट १२  महिने सीएमए तालिम पूरा  (२०४३ साल) ।

– गोरखाको लिगलिग कोटस्थित युनाइटेड मिशन टु नेपालद्वारा सञ्चालित आँपपिपल अस्पतालमा सेवा सुरु  ।

– वि.सं. २०४५ मा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल क्याम्पसमा हेल्थ असिस्टेन्ट (एच.ए) कोर्समा भर्ना, २ वर्षको अध्ययन पूरा ।

– एमबिबिएसको प्रवेश परीक्षाको तयारी ( २०५० साल), एमबिबिएस प्रवेश परीक्षामा सयौँको प्रतिस्पर्धामा दोस्रो स्थानमा नाम निकाल्न सफल ।

–  त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसमा भर्ना (२०५० साल), स्वर्णपदकसहित एमबिबिएस उत्तिर्ण (२०५६ साल) ।

–  एक वर्षे इन्टर्नसिपपछि पाटन अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्य प्रारम्भ (२०५६ साल), पाटन अस्पतालको मेडिसिन विभागमा करिब १८ महिना  सेवा  ।

– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा एमडी इन्टरनल मेडिसिन बिषयमा भर्ना (२०५८ साल), पोस्ट ग्र्याजुएसन कोर्स पूरा (२०६१ साल) ।

 – पाटन अस्पतालको मेडिसिन विभागमा आबद्ध (२०६१ साल) ।

– इटलीको युनिभर्सिटी अफ क्याटानिया बाट क्लिनिकल इन्डोक्राइनोलोजी विषयमा पोस्ट ग्र्याजुएट तालिम पूरा (२०६३ साल) ।

– क्यानडाको विश्व प्रसिद्ध युनिभर्सिटी (युनिभर्सिटी अफ टोरन्टो) बाट एडल्ट र्‍युमटोलोजीमा विषयमा    क्लिनिकल फेलोसिप पूरा (२०६५ साल) ।

– इन्टरनेशनल डायबिटिज फेडेरेसनको ‘लाइफ फर चाइल्ड’ कार्यक्रम पहिलो पटक नेपालमा सुरुवात  (२०६२ साल चैत्र)  ।

– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालमै पहिलो दुई वर्षे र्‍युमटोलोजीमा फेलोसिप कार्यक्रम सुरु (२०७५ साल) ।

– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागको प्रमुख (२०७८) ।

– उप कुलपतिको यात्राको सुरुवात (२०८२ साल श्रावण देखि) ।

थप संस्थागत आबद्धता

– नेपाल बाथरोग मैत्री समाज ललितपुरका आजीवन सदस्य तथा संस्थापक सल्लाहकार

– लुपस सोसाइटी नेपालका आजीवन सदस्य तथा संस्थापक सल्लाहकार

– नेपाल र्‍युमटोलोजी सोसाइटी आजीवन सदस्य तथा संस्थापक अध्यक्ष

– युनिभर्सिटी अफ विस्कन्सिन अमेरिकाको भिजिटिङ प्रोफेसर

फेसबुकबाट तपाईको प्रतिक्रिया