
ललितपुर । नेपाल सरकारले नियुक्त गरेका विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरूले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष तथा गोपनीयताको शपथ लिएका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिप्रसाद पौडेल , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्राडा पुजनकुमार रोकाया, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्री लाई पद तथा गोपनीयताको शपथ दिलाउँदै कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिएका थिए । उनले आफ्नो कार्यकालमा उपकुलपतिहरूले कुनै दाग लाग्न नदिने गरी काम गर्ने विश्वास पनि व्यक्त गरेका थिए । शपथ कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री रघुजी पन्त, मुख्य सचिव लगायत उपस्थित थिए ।
यसैबीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति प्राडा बुद्धिप्रसाद पौडेललाई प्रतिष्ठान परिवारले भव्य स्वागत गरेको छ । शपथ ग्रहण पछि पदभार ग्रहणका लागि पाटन पुगेका उपकुलपति पौडेललाई प्रवेशद्वार देखि कार्यकक्ष सम्म प्रतिष्ठानका पदाधिकारी, चिकित्सक , प्रशासनका कर्मचारी लगायत सयौँले फूल माला खादाले स्वागत गरेका थिए ।

मंगलपूजाको सामान्य विधि सँगै पौडेललाई कार्यकक्ष प्रवेश गराइएको थियो । उपकुलपति पौडेललाई निमित्त उपकुलपति , निवर्तमान उपकुलपति र अन्य पदाधिकारीहरूले स्वागत गरेका थिए । उपकुलपति पौडेलले आजै हाजिरी पुस्तिकामा हस्ताक्षर गर्दै कार्यकालको सुरुवात गरेका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा पौडेल वरिष्ठ आन्तरिक चिकित्सा विशेषज्ञ (इन्टरनल मेडिसिन) र नेपालका अग्रणी बाथरोग विशेषज्ञ हुन् ।






फेसबुकबाट तपाईको प्रतिक्रिया