२०८२ भाद्र ८ | Aug 24, 2025

अद्यावधिक नभएको कम्पनीमार्फत शेयर बिक्री, रकम सङ्कलन गर्ने पिंकीविरुद्ध उजुरी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८

ललितपुर । रसुवाको अपर मैलुङ जलविद्युत आयोजना निर्माणकै क्रममा शेयर बिक्रीमा गोलमाल भएको तथ्य बाहिर आएको छ। इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको हो। २०७० सालमा सुरु भएको आयोजनाको काम अझै पूरा भएको छैन। कम्पनीका अध्यक्ष कुश कुमार जोशीले भने, “आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ, अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छौँ।”

जोशीका अनुसार केही समय अघिको बाढीले आयोजनातर्फ पुग्ने सडकमा क्षति पुगे पनि आयोजनामा ठुलो क्षति भएको छैन। उनले रसुवामा दर्ता भएको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीलाई शेयर लगानी गर्न अनुमति दिएको स्वीकार गरे।

२०७४ सालमा डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको अगुवाइमा विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी स्थापना भएको थियो। जोशीले उक्त कम्पनीलाई मात्र होइन, कम्पनीको सिफारिसमा व्यक्तिलाई पनि शेयर लगानी गर्ने सुविधा दिएको बताए। “कम्पनीले शेयर लगानी गर्छु भनेको हो, व्यक्तिले होइन। तर कम्पनीकै आग्रहमा व्यक्तिलाई पनि दिने गरिएको हो,” उनले भने।

शेयर प्रमाणपत्र लिनका लागि बैङ्कमा नगद जम्मा गरिएको भौचर अनिवार्य हुने प्रस्ट पार्दै उनले कम्पनीको रसिद मात्र भए प्रमाणपत्र नपाइने स्पष्ट पारे। जोशी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष समेत हुन्। उनको नेतृत्वमा निर्माणाधीन रसुवाको अपर मैलुङ आयोजनाको शेयर बिक्री भएको हो। तर सोही प्रक्रियामा संलग्न विवेकशील आदर्श कम्पनी दर्ता भए पनि अद्यावधिक नभएको पुष्टि भएको छ।

इनर्जी इन्जिनियरिङले शेयर प्रमाणपत्र दिन बैङ्क भौचर अनिवार्य भनेपछि विवेकशील आदर्श कम्पनीको रसिद मात्रै लिएर रकम बुझाएकाहरू अन्योलमा परेका छन्। विवेकशील आदर्शको रसिद दिएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यसँग लाखौँ रुपैयाँ सङ्कलन गरेको आरोपमा ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ ९पिंकी० कानुनी घेरामा परेकी छन्।

पीडितहरूले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गर्दै पिंकीले ८ वर्षसम्म शेयर प्रमाणपत्र नदिएको, विवेकशील कम्पनीको रसिदमै मुख बुझो लगाउँदै आएको आरोप लगाएका छन्। तत्कालीन नयाँ शक्ति पार्टीमा पनि आबद्ध रहेकी पिंकीले हाइड्रोपावरका नाममा रकम सङ्कलन गरी विवेकशील कम्पनीको रसिद वितरण गरेकी थिइन्।

तत्कालीन नयाँ शक्ति पार्टी रसुवाका संयोजक प्रेम तामाङका अनुसार, “कम्पनी स्थापना गर्नेहरू तितरबितर भइसकेका छन्। कम्पनी अद्यावधिक नभएको सत्य हो। विवेकशील कम्पनीको रसिदले मात्र हुँदैन, बैङ्कमा रकम जम्मा गरेको भौचर अनिवार्य हुन्छ। बैङ्कको भौचर भए प्रमाणपत्र पाउन सकिन्छ।”

उनले भने, विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीले इनर्जी इन्जिनियरिङसँग मिलेर शेयर बिक्री गरेको थियो। इच्छुक व्यक्तिलाई फाराम भराएर बैङ्कमा रकम जम्मा गर्न लगाइएको थियो।

पिंकीले भने बैङ्कमा नगद जम्मा नगरी केवल कम्पनीको रसिद दिएको पाइएको छ।

उनले त्यति बेलाको अवस्थाबारे सम्झँदै थपे, “शेयर भर्नका लागि धेरै फाराम वितरण भएका थिए। कोहीले व्यक्तिलाई नगद बुझाएको गुनासो आएको छ। तर म सो कम्पनीमा प्रत्यक्ष आबद्ध थिइनँ, पार्टी कार्यालयमा छलफलपछि सहयोग मात्र गरेको हुँ।” उनले अहिले पनि बैङ्क भौचर भएका व्यक्तिलाई प्रमाणपत्र दिलाउन सहयोग गरिरहेको भने स्वीकार गरे।

तामाङले आफूले कसैसँग व्यक्तिगत रूपमा नगद सङ्कलन नगरेको दाबी पारे। उनले भने, “पिंकीले मलाई कुनै रकम दिएकी छैनन्। बैङ्कमा सिधै जम्मा गर्ने भनिएको थियो। पिंकीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई शेयर बिक्री गर्ने जिम्मा लिएको हुनुपर्छ।”

पीडित समुदायका सदस्यहरूले भने ८ वर्षसम्म आफूले बुझाएको रकमको कुनै अत्तोपत्तो नपाएको भन्दै सार्वजनिक गुनासो गर्दै आएका छन्। यही कारण हाल पिंकी कानुनी घेराबन्दीमा परेकी हुन्। उनले विवेकशील आदर्श कम्पनीको रसिद देखाएर रकम सङ्कलन गरेको स्वीकार गरेकी छन्। साथै, सोधखोज गर्नेहरूमध्ये केहीलाई इनर्जी इन्जिनियरिङ कम्पनीको नाममा शेयर प्रमाणपत्र समेत दिएको पाइएको छ।

पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दर्ता गरिसकेका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले भने, “पिंकीले म्यासेज गर्दै भेटेर कुरा गरौँ भनेकी छन्। तर यत्रो समय केही नगर्ने, उजुरी परेपछि मात्र कुरा गरौँ भन्नु उनको चालबाजी हो। हामी बाहिर भेटेर छलफल गर्ने पक्षमा छैनौँ।”

समुदायले सम्पूर्ण रकम फिर्ता गराउनुपर्ने माग दोहोर्‍याएका छन्। तर पिंकी भने “कुरा गरौँला” भन्दै अलमल्याउने रणनीतिमा लागेकी छन्। अहिलेसम्म उनले विवेकशील आदर्श कम्पनीमा जम्मा भएको रकमको बैङ्क रसिद उपलब्ध गराएकी छैनन्।

पीडित समुदायको आरोप छ–पिंकीले ब्लु डायमन्ड सोसाइटीका कर्मचारीहरूसँग मात्र नभई बाहिर रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूसँग समेत लाखौँ रुपैयाँ सङ्कलन गरेकी थिइन्। तर सो रकमको हिसाबकिताब भने ८ वर्षसम्म लुकाइएको छ। अहिले पीडित समुदाय खुलेर आफ्नो पैसा फिर्ता माग्न थालेपछि पिंकीमाथि शेयर बिक्रीका नाममा ठगी गरेको आरोप लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement