२०८२ भाद्र ९ | Aug 25, 2025

माइतीघरमा उखुका लाक्रा हातमा बोकेर धर्नामा बसे किसान

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८

ललितपुर । समयमा रकम भुक्तनी नगर्दा उखु किसानहरुले वर्षेनी सास्ती खेपिरहेका छन् । प्रायजसो वर्षेनी आन्दोलन गरिरहने उखु किसानहरु यसवर्ष पनि गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

यसपटकको आन्दोलन भने जिल्लाबाट नभई केन्द्रबाट थालेका छन् । यतिबेला उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् । उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि उखु किसानहरुमा अघिल्लो आर्थिक वर्षको अनुदान पनि नआउने हो कि त्रास देखिन्छ । सरकारले गत आर्थिक वर्षकै अनुदान कटौती गरेको हो कि भन्ने आशंका गरिरहेका छन् ।

आइतबार काठाडौंको माइतीघरमा भइरहेको प्रदर्शनमा किसानका हात हातमा उखुका लाक्रा देखिएका छन् । प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् भने कृषकहरूले सरकारले अनुदान रकम कटौती गरे अब उखु खेती गर्ने अवस्था नआउने जनाएका छन् । सरकारले किसानलाई उखु खेतीतर्फ निरुत्साहित गरेको आरोप समेत लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement