२०८२ भाद्र १३ | Aug 29, 2025

पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्चको आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ११

ललितपुर । सर्वोच्च अदालतले दर्ता रहेको नाम फेर्न केही राजनीतिक दलहरुलाई ३ फागुन, २०८० मा गरेको पत्राचारबाट उत्पन्न विवाद बारेको मुद्दामा आज सर्वोच्च अदालतको न्यायाधीश द्वय कुमार ढकाल र बालकृष्ण चुडालको इजलासले निर्वाचन आयोगबाट ३ फागुन, २०८० भएको निर्णयको सक्कल प्रति पेश गर्ने आदेश दिएको छ ।

निर्वाचन आयोगले आयोगमा पहिलेदेखि दर्ता रहेको १९ वटा राजनीतिक दललाई ती राजनीतिक दलहरुको नाम नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनको मर्मको भावना अनुरूप भएको नदेखिएको र संविधानको भावना विपरीत, साम्प्रदायिक सद्भाव भड्काउने किसिमको रहेको भन्दै नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम त्यस्तो निर्णय गरेको उल्लेख गरेको थियो ।

१९ मध्ये ६ राजनीतिक दलले नाम परिवर्तन गरे पनि तराई-मधेश लोकतान्त्रिक पार्टीले आयोगको निर्णयलाई चुनौती दिंदै पार्टीको तर्फबाट अध्यक्ष वृषेशचन्द्र लालले रिट दायर गरेका थिए । सो रिटमा दर्ता रहेको राजनीतिक दलको नाम परिवर्तन गर्न निर्देशन दिने वा सो गर्ने अधिकार निर्वाचन आयोगलाई कुनै कानूनले नदिएको र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा समेत त्यस्तो निर्देशन दिने कतै कुनै उल्लेख नरहेकोले यस्तो निर्देशन खारेज गरी पाउँ भनी जिकिर लिइएको छ ।

यसबारे एक प्रश्नको उत्तरमा तमलोपाको प्रचार विभाग प्रमुख उमेश मण्डलले आयोगको निर्देशन अनधिकृत, गैर कानूनी र संविधानको मर्म विपरित रहेको बताए । तराई मधेश लोकतान्त्रिक पार्टीको नामको कुनै शब्द संविधान विपरित वा संप्रदायिक भावना दर्शाउने अथवा अखण्डता विरुद्धको भावना फैलाउने नरहेको स्पष्ट गरे । त्यस्तै तमलोपा सम्वद्ध लोकतान्त्रिक महिला संघको अध्यक्ष बिन्दु ठाकुरले तराई-मधेश द्रुतमार्ग वा त्यस्तै कुनै नामले सम्प्रदायिकता देखाउँदैन भने ‘तराई-मधेश लोकतान्त्रिक पार्टी’ भन्ने नाम कसरी आपत्तिजनक हुन सक्छ प्रश्न गर्दै निर्वाचन आयोगको सोचप्रति दुख प्रकट गरिन ।

तमलोपाकी नेतृ बिभा ठाकुरले तराई-मधेश लोकतान्त्रिक पार्टी पहिले २०६३ सालमा पनि दर्ता भई संविधानसभाका निर्वाचनहरुमा भाग लिएको थियो भन्दै निर्वाच आयोगले के आधारमा यस नामलाई अहिले आएर सांप्रदायिक भन्न खोजेको छ आश्चर्य लाग्दो छ ।

सर्वोच्च अदालतले यसको पहिलो सुनबाईपछि अल्पकालिन अन्तरिम आदेश र पछि दुबै पक्षबीच छलफलपछि अन्तरिम आदेश जारी गरी आयोगको निर्णयमाथि रोक लगाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement