२०८२ भाद्र १८ | Sep 03, 2025

पञ्जाबमा आएको विनाशकारी बाढीले पुर्यायो ठूलो क्षति

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १७
|
918 views

पन्जाब । भारतको पञ्जाब राज्यका आएको विनाशकारी बाढी ठूलो क्षति पुर्याएको छ । बाढीका कारण करिब एक हजार गाउँ विनाशकारी बाढीमा डुबानमा परेका छन् भने हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

उत्तरपश्चिमी यो राज्यमा आएको बाढीले हालसम्म कम्तीमा २९ जनाको ज्यान लिएको छ भने गत महिना मात्रै दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँमा आएको सबैभन्दा भीषण बाढी’ को रूपमा चित्रण गरेका छन् ।

भारतको ‘ब्रेडबास्केट’ भनेर चिनिने यस क्षेत्रमा नौ सय ४० वर्गकिलोमिटर (तीन सय ६० वर्गमाइल) भन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । यसले ‘विनाशकारी बाली क्षति’ निम्त्याएको मुख्यमन्त्री भगवन्त मानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।\

यस विषयमा भारतीले प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीलाई सङ्घीय सरकारको ‘पूर्ण सहयोग’ रहने आश्वासन दिएका छन् ।

अधिकारीहरूले गाईवस्तुको ठूलो सङ्ख्यामा क्षति हुने आशङ्का व्यक्त गरेका छन् । तर यसबारे स्पष्ट विवरण पानी घटेपछि मात्र पत्ता लाग्ने जनाइएको छ । सोमबार ढिलो राज्य अधिकारीहरूले सार्वजनिक गरेको बुलेटिनमा यो कुरा उल्लेख गरिएको हो ।

फसेका मानिसहरूको उद्धार तथा खाद्यान्न आपूर्ति गर्न भारतको सेना र विपद् व्यवस्थापन टोलीले एक हजारभन्दा बढी डुङ्गा र ३० वटा हेलिकप्टर परिचालन गर्दै विशाल उद्धार अभियान चलाइरहेका छन् । “सबैभन्दा महत्त्वपूर्ण कुरा पानीमा फसेका मानिस र असहाय जनावरको ज्यान बचाउनु हो”, मुख्यमन्त्री मानले विज्ञप्तिमा भनेका छन् ।

यस क्षेत्रका नदीहरू पाकिस्तानतर्फ बगेका कारण त्यहाँ पनि बाढीले ठूलो जमिन डुबानमा परेको छ । यस उपमहाद्वीपमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी समयमा बाढी र भूस्खलन सामान्य भए पनि जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण तिनको आवृत्ति, तीव्रता र प्रभाव बढिरहेको विज्ञहरू बताउँछन् ।

राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष उत्तरपश्चिम भारतमा जुनदेखि सेप्टेम्बरसम्म औसत वर्षातभन्दा एक तिहाइ बढी वर्षा भएको छ । जसका कारण राजधानी दिल्लीमा निरन्तर यमुना नदीले खतराको तह पार गरेको छ । यसले सहरका धेरै क्षेत्र डुबानमा परेका छन् र घण्टौँसम्म भीषण ट्राफिक जाम भएको छ ।

गत महिना जम्मू–कश्मीरमा कीर्तिमानी वर्षासँगै आएको घातक बाढीले पनि दर्जनौँको ज्यान लिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement