२०८२ आश्विन १६ | Oct 02, 2025

आज प्रतिनिधिसभाको बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १९
|
867 views

ललितपुर । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक विहीबार अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तत गर्नेछन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यतालिका राखिएको छ ।

त्यसैगरी आज राष्ट्रियसभा अन्तर्गतका दुई समितिको बैठक समेत बस्दैछ । अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ । 

अर्को, राष्ट्रियसभाअन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औँ बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा समितिको आव २०८२÷८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया