
ललितपुर । लचिलो मौद्रिक नीति आए पनि घरजग्गा कारोवारमा सुधार देखिएको छैन । चालु आर्थिक बर्ष २०८२र८३ शुरु भएयता नै घरजग्गा कारोबारमा गिरावट आइरहेको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार चालु आवमा भने निराशाजनक हुने देखिन्छ ।
सरकारले कित्ताकाट रोकिदिँदा कारोवारमा सुधार आउन नसकेको विज्ञहरु बताउँछन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त तथ्यांकअनुसार साउनमा कारोबारमा गिरावट आएको छ । २०८१ साउनमा नेपालभर ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो । गत साउनमा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ । जुन गत आवको सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो ।
गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो । गत असारमा देशभर ५५ हजार ५ सय २४ वटा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५ सय ४३ वटा घरजग्गा कारोबार भएको थियो ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार २० वटा घरजग्गाको कारोबार भएको छ । साउनमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० वटा घरजग्गा कारोबार भएको देखिन्छ ।
यस्तै काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चावहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १११ घरजग्गाका कारोबार भएका छन् ।
स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट हुन सकेको छैन । कित्ताकाट रोकिँदा घरजग्गा कारोबार प्रभावित भएको विज्ञहरु बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया