२०८२ आश्विन १६ | Oct 02, 2025

जेनजीको प्रदर्शनलाई महानगरको सहयोग, प्रदर्शनस्थलमा राखिदियो घुम्ती शौचालय

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
1.4k views

ललितपुर। आजको जेनजीको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाले समर्थन गरेको छ । आज माइतीघरमा भइरहेको जेन जीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ ।

त्यसो त काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू जेन जीको पक्षमा रहेको बताउँदै आएका छन् । प्रदर्शनलाई समर्थन जनाउँदै प्रदर्शनकारीको सुविधाका लागि र महानगरको सरसफाइलाई ध्यानमा राखेर सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेकाहरुको लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।

आज १३ देखि २६ वर्ष उमेर समूहका किशोर किशोरीहरु देशमा विद्यमान भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

स्कुल र कलेजको ड्रेसमै राष्ट्रिय झण्डा बोकेर विद्यार्थीहरु सडकमा ओर्लिए छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड हातमा बोके र गीत गाइरहेका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन लगायतका नारा लेखेका प्लेकार्ड बोकेर जेन जीले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

काठमाडौं लगायत रुपन्देही, दाङ, पोखरा लगायतका विभिन्न जिल्लाहरूमा पनि जेन जीले प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया