२०८२ आश्विन १६ | Oct 02, 2025

मन्त्रिपरिषद् बैठक सुरु- कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा – सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्यो आयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
4.7k views

ललितपुर । जेनजी आन्दोलनमा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको हो ।
यता त्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको छ ।
बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरू उपस्थित छन् । सभापति देउवाले यसअघि पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए ।
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रूपमा समयमै सम्बोधन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै प्रदर्शनका क्रममा मृत्यु भएको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाल सरकारलाई आयोगले निर्देशन दिएको छ । साथै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया