२०८२ आश्विन १६ | Oct 02, 2025

देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २५
|
1.3k views

ललितपुर। नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर बुधबार कर्फ्यु जारी गरिएको छ।

भदौ २३ र २४ गते दुई दिन जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाली सेनाले गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ। नेपाली सेनाले विज्ञप्ति जारी गर्दै बुधबार एक दिन देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको बताएको छ।

सेनाको जारी गरेको विज्ञप्तिअनुसार, भाद्र २५ गते बेलुका ५ बजेसम्मका लागि देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने नेपाली सेनाले बताएको छ।

सेनाले आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र गर्ने सम्भावना रहेकोले यो कदम चालिएको विज्ञप्ति मार्फत् प्रष्ट पारेको छ।

निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन्। आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

यस्तै आम नागरिकलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न समेत नेपाली सेनाले आग्रह गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आ(आफ्नो दायित्व निभाउन पनि अपिल गरेको छ।

नेपाली जनताको सुरक्षार्थ हरेक परिस्थितिजन्य जिम्मेवारी वहनमा नेपाली सेना सक्रिय रहने र मानवीय उद्धारमा सधैँ प्रतिबद्ध रहने विश्वास दिलाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया