२०८२ आश्विन १६ | Oct 02, 2025

अज्ञातस्थलबाट प्रचण्डको अपिल: संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौं

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
1.9k views

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अज्ञातस्थलबाट संविधान र संसदीय प्रक्रियाबाट समस्याको समाधान खोज्नु पर्ने बताएका छन् । उनले हाल जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका हुन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले विहीबार विहान एक प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट रहेको बताएका छन् । विज्ञप्ति मार्फत् उनले भनेका छन्, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।’

यस्तै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो ठहर छ, कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततस् प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ ।’

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समुन्नत लोकतन्त्रको विकासका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । हाल संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै समुन्नत लोकतन्त्रको विकास गर्न सकिने उल्लेख गरेका छन् । ‘यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं’ प्रचण्डले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया