२०८२ आश्विन १६ | Oct 02, 2025

राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ, नेकपा एमाले

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
1.1k views

ललितपुर । नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ । पार्टी सचिवालयका तर्फबाट बिहीबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ ।’

पोखरेलले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्ने बताएका छन् ।

“प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवापुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,” वक्तव्यमा भनिएको छ, “यसका लागि संविधानका मर्मअनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ ।”

पोखरेलको ८ बुँदे विज्ञप्तिमा भनेका छन्, एमालेले विषम परिस्थितिमा संघीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका निम्ति रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।

“स्थानीय तहहरूले निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ,” वक्तव्यमा भनिएको छ ।आठबुँदे वक्तव्यमा वर्तमान प्रतिकूल अवस्था सहज हुँदै जाने विश्वास व्यक्त गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया