
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार मध्यराति शीतल निवासमा भएको लामो संर्घषात्मक छलफलपछि अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ। स्रोतका अनुसार शीतल निवासमा वार्ता शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो।
यसअघि राष्ट्रपति पौडेलले प्रमुख दलका नेताहरूसँग छलफल गरेका थिए। ती नेताहरूले पनि आन्दोलनरत जेनजी समूहको भावनाबमोजिम कार्कीको नेतृत्वमा अन्तरिम सरकार अघि बढाउन सकिने धारणा राखेका छन्।
छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की र कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए। अर्यालले काठमाडौँ महानगर प्रमुख बालेनको प्रतिनिधित्व गरेका थिए। जेनजी समूहले प्रस्ताव गरेका अन्य एजेन्डाहरू — संसद् विघटन, आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा र क्षतिपूर्ति, घाइतेको उपचार तथा विगत ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठन — बारे पनि विस्तृत छलफल भएको बताइएको छ।
सुरक्षका लागि काठमाडौँका मुख्य सडकहरूमा सेनाको बाक्लो उपस्थिति देखिएको छ। भद्रकालीस्थित सैनिक मुख्यालय, नारायणहिटी, सिंहदरबार, शीतल निवास, निर्मल निवासलगायत स्थानमा सुरक्षा सतर्कता बढाइएको छ। सेनाका ब्यारेकहरू उच्च सतर्क अवस्थामा राखिएको छ भने बाहिरका जिल्लाबाट समेत गाडी र फौज काठमाडौं भित्र्याइएको सैनिक स्रोतले पुष्टि गरेको छ।
बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया