२०८२ आश्विन १६ | Oct 02, 2025

काठमाडौँ उपत्यकामा लगाउँदै आएको कर्फ्युले चौथो दिन पनि निरन्तरा पायो, समय भने घटाइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २७
|
2.7k views

ललितपुर। जेनजीको प्रदर्शनले उग्र रुप लिएपछि गत काठमाडौँ उपत्यकामा मंगलबारदेखि निरन्तर कर्फ्यु लागिरहेको छ । चारदिनदेखि नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिए पनि शुक्रबार भने निषेधाज्ञाको समय केही घटाइएको छ । यसअघि बिहान १० बजेदेखि निषेधाज्ञा लागु गरिएकोमा शुक्रबार बिहान ११ बजेदेखि मात्र निषेधाज्ञा लागु गरिने भएको हो ।

देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको नेपाली सेनाको भनाई छ ।

सेनाको विज्ञप्ति अनुसार भदौ २७ गते बिहान ११ बजे देखि बेलुकी ५ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै बेलुकी ७ बजे देखि भदौ २८ गते बिहान ६ बजे सम्म कर्फ्यु यथावत् राखिएको छ । तर, भदौ २७ गते बिहान ६ बजे देखि बिहान ११ बजेसम्म र भदौ २७ गते बेलुकी ५ बजे देखि ७ बजे सम्म अत्यावश्यक काममा लागि हिँडडुल गर्न पाइने सेनाले जनाएको छ ।

यस्तै निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने० सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ ।

विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।

यसैगरी अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने भनी छुट्ट्याइएको समयमा समेत जुलुस, धर्ना, प्रदर्शन लगायतका गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको नेपाली सेनाले स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया