
ललितपुर । भदौ २४ गते जेनजीका नाममा भएको प्रदर्शनले रुप बदलेपछि देशका करिव दुई दर्जन होटलमा क्षति पुगेको छ । होटल संघ नेपाल (हान)ले यसबाट २५ अर्ब बराबर क्षति हुन पुगेको जनाएको छ । हानले आज एक विज्ञप्ति मार्फत यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झन्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको हो ।
पहिलो चरणमा संकलन गरेको प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति समेत गरी देशैभरी करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । यसबाट प्रभावित सदस्य होटलहरु मर्मत संभार, पुनर्निर्माण नगरी संचालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल संचालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नु पर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको हानले बताएको छ।
आम पब्लिकको समेत लगानी भएको पब्लिक लिमिटेड कम्पनी सहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको यथाशीघ्र शक्तिशाली अधिकार प्राप्त न्यायायिक समितिबाट जाँचबुझ भई अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मत संभार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटल संघ नेपाल जोडदार माग गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया