२०८२ आश्विन १६ | Oct 02, 2025

प्रधानमन्त्री कार्कीलाई अमेरिका र चीनद्वारा स्वागत

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
561 views

ललितपुर । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।

“हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ” विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेको हो ।

यस्तै, चीनले पनि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।

चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

“हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,” उनले भनेको दूतावासको कथन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया