२०८२ आश्विन १६ | Oct 02, 2025

आफ्नो मूल उद्देश्यमा अडिग रहेको एनसेलको भनाई – कार्यालयमा भएको तोडफोड, आगजनी र डकैती बिरुद्ध प्रहरीमा उजुरी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
1.3k views

ललितपुर । मोवाइल सेवा प्रदायक एनसेलले अघिल्लो साता देशभर भएको आगजनी, तोडफोडप्रति चिन्ता व्यक्ति गर्दै सधैं झैँ देश र आम जनमानसको सेवामा निरन्तर पहुँच राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको जनाएको छ ।

एनसेलले एक विज्ञप्ति जारी गर्दै भनेको छ गत हप्ताको तोडफोडका घटनाले हाम्रो काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पु¥याएको कुरा गहिरो दुःखका साथ पुष्टि गर्दछौं । यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएका थिए ।
यी चुनौतीहरूको बाबजुद, एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो । संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पु¥याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्दछ ।

अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौं। देशका युवाहरुको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौं र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौं ।

२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पु¥याउँदै आएको छ । आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौं । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौं ।

अन्त्यमा, गत हप्ताको अन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै, घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको लागि शुभेच्छा प्रकट गर्दछौं ।

यसैबीच काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीको घटना बारे सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ । उजुरीमा यी घटनाहरुसँग संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरुबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ ।

एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमुल्य विद्युतीय समानहरु, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यलयको काममा प्रयोग हुने सामानहरु डकैती गरी लगेको, कर्मचारीहरुलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरु डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामानहरु बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरु डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महंगा मोटरगाडीहरु भेहिकल रुपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरि भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पान्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रुपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरु समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया