
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन अनुरोध गरेकी छन् । मन्त्रिमण्डल विस्तार गर्ने क्रममा आज प्रधानमन्त्री कार्की तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर डा. रुइतसँग छलफल गरेकी छन् ।
आफ्नो नियमित आँखा जाँचका लागि तिलगंगा पुगेकी प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफू नेतृत्वको सरकारमा सहभागिता जनाउन आग्रह गरेको बुझिएको छ । देशको विषयम परिस्थितिमा आफू प्रधानमन्त्री बन्नु परेकाले आफ्नो नेतृत्वको सरकारमा बसेर सहयोग डा रुइतसँग आग्रह गरेको बुझिएको छ । तर, प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार गर्दै डा. रुइतले जवाफमा वर्तमान अन्तरिम सरकारलाई आफूले सहयोग गर्ने तर सरकारमा भने आफूले सहभागिता नजनाउने भनेका छन् ।
दुई बीचको छलफल पश्चात् डा. रुइतले सञ्चारकर्मीसँग कुरा गर्दै आफू अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताएका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लीन हुने बताउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया