
ललितपुर । वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय यसरी बजारबाट निक्षेप संकलन गरिरहेको छ । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि यसरी निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
यसरी निक्षेप बढ्दै जाँदा विहीबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोलकबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
पछिल्लो समय केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै बजारबाट निक्षेप संकलन गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया