२०८२ आश्विन २
1.4k views

रुपा रिसाल
पुस्तैनी सन्त्रासमा बाँचेका
ए सर्व श्रेष्ठ मनुवा तिमीले
सधैँ शिरमाथि राखिएको
तैनाथ हतियारधारी रक्षक
भनाउँदाका चण्ड मुण्डद्वारा
रचिएको भुलभुलैया चोकमा
दिउँसो मध्याह्न रणसङ्ग्राम परी
चक्रव्यूह कौरवद्वारा मारिएका
हाम्रो अभिमन्यूलाई देख्यौ ?
निर्भीक रगताम्य अनुहारमा
टाउका छातीको ढाल बन्दै
कापी कलम ढाडमा बोकेका
सरस्वतीका पुत्रको हुङ्कार मा
वीरगतिमा तड्पिँदै रणभूमिमा
विशाल जुलुसमाथि ढलेको ।
भविष्यका कर्णधार योद्धाको
चिता माथि तपतप झर्दै गएछन्
शिव पार्वतीको आँखाका अश्रु धारा
करोडौँ नेपालीको मुटुका टुक्रा
आज आर्यघाटमा भाविह्वल बन्दै
धुवा धुवाँले भरिएको दूषित पवन ।
कुरुक्षेत्रमा बगे रगतको आहाल
डुबुल्की मार्न तम्तयार कौरवहरू
पौँठे जोरी खोज्दै बिउँतन सक्छ
रक्तबीजको रूपमा जन्मँदै सक्छ
भूतप्रेतको पिचास रूप सलबलाउँदै
हाम्रा असङ्ख्य अभिमन्यू मारेर ।
फेसबुकबाट तपाईको प्रतिक्रिया