
ललितपुर । बाँकी रहेको अर्बौं विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक बोलाउने तयारी भएको छ । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हाल्दै गर्दा बाँकी रहेको विद्युत वक्यौता उठाउने पहिलो निर्णय गरेका थिए ।
मन्त्री घिसिङको उक्त निर्णयलाई यथाशक्य चाँडो कार्यान्वयनमा लैजानका लागि बोर्ड बैठक बस्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शाक्यका अनुसार भोली र पर्सी दुई दिनमा नै बैठक बसेर विद्युत वक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा समेत लगिनेछ ।
निर्देशक शाक्यले भने– “वक्यौतासम्बन्धी जुन मन्त्रीज्युको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौं । विद्युत प्राधिकरणको मन्त्री नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौं । वक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्रीज्यु नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सीमै बोर्ड बैठक बस्छ ।’
शाक्यले बोर्डको बैठकबाट निर्णय हुनासाथ वक्यौता उठाउन कुनै समस्या नहुने बताए । वर्तमान उर्जामन्त्री कुलनमान घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन भनेर वक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए । तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङले बिजुलीको लाइन काटे पनि जोड्न निर्देशन दिएका थिए ।
नेपाल विद्युत प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया