
ललितपुर। गत भदौं २३ को प्रदर्शन र २४ गतेको देशभरि भएको जेनजी आन्दोलन र त्यसबाट सृजित विध्वसात्मक गतिविधिका कारण चौधरी समूह (सीजी) लाई मात्र करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यति ठूलो क्षति भदौ २४ गते आन्दोलनकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण हुन पुगेको हो । शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेको सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना निरीक्षण क्रममा पीडित समूहले सरकार समक्ष यस्तो जानकारी गराउँदै क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका लागि विशेष राहत र सुविधा समेत माग गरेको छ ।
सीजीका अनुसार काठमाडौंको सतुङ्गलस्थित इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् भने सोही परिसरमा रहेको सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ ।
भदौ गतेको आन्दोलनले विशेषगरी राजधानी लगायत देशका विभिन्न व्यावसायिक प्रतिष्ठानमाथि ठूलो हमला गरेको थियो । त्यसैको मारमा सीजी पनि परेको हो । आगजनी र तोडफोड गर्ने क्रममा काठमाडौंको थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा समेत क्षति पुगेको छ ।
यस्तै, सीजीका अध्यक्ष विनोद चौधरीको काठमाडौंको रविभवन र बर्दघाटमा रहेको निजी निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ ।
त्यसैगरी काठमाडौं ललितपुर, विशालनगर लगायत क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुममा समेत ठूलो क्षति पुर्याइएको छ । चितवन भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन तथा पसलहरूमा लुटपाट तथा तोडफोड गरिएको छ भने जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ । विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाएको सीजीले जनाएको छ ।
कम्पनीले क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि सीजीले सरकार समक्ष विभिन्न सुझाव राखेको छ । जसमा व्यवसायको दीर्घकालीन सुरक्षा प्रत्याभूति, बीमा दाबीको द्रुत भुक्तानी, क्षतिग्रस्त व्यवसायका लागि ऋण पुनर्संरचना र ब्याज मिनाहा, निर्माण सामग्री तथा प्लान्ट मेसिनरीको पैठारीमा शतप्रतिशत छुट, क्षतिग्रस्त सवारीसाधनमा सहुलियत, लेखा परीक्षणमा लचकता र सेज (विशेष आर्थिक क्षेत्र) बाहिरका उद्योगलाई समेत सेजसरह सुविधा प्रदान गर्नुपर्ने लगायत सुझाव समावेश छन् ।
५ अर्ब भन्दा माथि क्षति भोग्नु परे पनि सीजीले आफ्ना कुनै पनि कर्मचारीलाई भने कामबाट नहटाउने प्रतिबद्धता जनाएको छ । समूहको इलेक्ट्रोनिक्स डिभिजन सतुङ्गलमा मात्रै १ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको र हजारौंको संख्यामा अप्रत्यक्ष रोजगारी निर्भर रहेको समूहले उल्लेख गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया