२०८२ आश्विन ६
1.2k views

ललितपुर । आज घटस्थापना अर्थात् नवरात्रको पहिलो दिन हो । हिन्दूधर्म परम्परा अनुसार आज विधिपूर्वक घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
आज दियो, कलश र गणेश स्थापना गरी गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।
नवरात्रभर दैनिक फरक फरक नाममा देवीको पूजाआराधना गर्ने गरिन्छ । जस्तैः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
यसरी विधिपूर्वक राखिएको जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आजबाट नरवात्रभर विभिन्न देवी शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया