
ललितपुर । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा निर्यात उत्साहजनक भएको बताए । वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा आठ अर्ब ८४ करोड मूल्य पर्ने चार करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो ।
त्यस्तै चालु आवको दुई महिनामा रु एक अर्ब २४ करोड मूल्य पर्ने रु एक करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु एक अर्ब २९ करोड मूल्य पर्ने रु एक करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो ।
चालु आवको दुई महिनामा एक अर्ब १७ करोड मूल्य बराबरको तीन करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया