२०८२ आश्विन १६ | Oct 02, 2025

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ११
|
663 views


ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताएकी छन् ।

४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको बताउएकी छन् ।

प्रधानमन्त्रीले सन्देशमा “पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ, सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल ‘रिकभरी’ सुरु भइसकेको छ ।” उल्लेख छ । यसैबीच विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।

नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गरेका हुन । उनले पर्यटन प्रवर्द्र्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए । उता छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न सहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयले जनाएको छ । सन् २०२२ मा गड्डाचौकी नाका भएर ५४२ जना मात्रै विदेशी पर्यटन आएका थिए । सन २०२३ देखि विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर ९८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२४ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया