२०८२ आश्विन १८ | Oct 04, 2025

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १७
|
816 views

ललितपुर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मुलुकको अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको तथा पहिरो र बाढीको उच्च जोखिम रहने जनाएको छ । सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिनुभएको छ । विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया