
लोकराज अधिकारी
जल तथा मौसम विभागले तीन दिन पहिले जारी गरेको प्रेस विज्ञप्तिमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ गते बाट असोज २० गते सम्म खास गरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको उल्लेख छ ।
हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोसी नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोसी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागको भनाई थियो । विशेष गरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन कोसी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको थियो ।
पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू–क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागको विश्लेषण थियो । विभागको पूर्वानुमान अनुसार शनिवार देखि देशका विभिन्न भागमा अविरल वर्षा भइरहेको छ भने सोमवार सम्मै निरन्तर वर्षा रहने बताउँदै नागरिकहरूलाई सार्बजनिक सूचना र ब्यक्तिगत म्यासेज मार्फत पनि उच्च सतर्कता अपनाउन भनेको छ ।
पछिल्लो २४ घण्टाको अवस्था हेर्दा वीरगन्जमा सबैभन्दा बढी १४४ मिलिमिटर वर्षा भएको देखिन्छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा गोदावरीमा सबैभन्दा बढी ८२ दशमलव ४ मिलिमिटर पानी परेको छ । २४ घण्टामा १४० मिलिमिटर वा त्यो भन्दा बढी पानी पर्नुलाई चेतावनीको तहमा पुगेको मानिने र त्यस्तो अवस्थामा पहाडी भेगमा पहिरो र तराईमा डुबानको जोखिम हुने मौसमविदहरुको भनाई छ । जल तथा मौसम विज्ञान विभागले अनुसार शनिवार राति ७ बजे पछि आइतबार मध्यान्ह करिब १ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । अविरल वर्षासँगै जोखिम बढ्दै जाँदा प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार बिदा दिएको छ । बङ्गालको खाडीबाट भारतको उडिसा र झारखण्ड हुँदै नेपाल प्रवेश गरेको यो मौसमी प्रणाली सोमबार बिहानतिर पूर्वतर्फबाट बाहिरिने विभागको भनाई छ । त्यतिन्जेल नागरिकहरूलाई वर्षासँग सम्बन्धित सूचनामा ध्यान दिन, अनावश्यक यात्रा नगर्न र नदी–खोला आसपासका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
नेपालमा मौसम मापन गर्न थालिएको १०४ वर्ष भयो । सन् १९२१ मा बेलायतको दूतावासले लैनचौरमा मौसम मापन सुरु गरेको थियो । मौसम पूर्वानुमान गर्न नेपालसँग गणितीय मौसम पूर्वानुमानमा प्रयोग हुने,पर्याप्त उच्च क्षमताको कम्प्युटर ,आफ्नै छुट्टै स्याटलाइट छैन । जापान सरकारले नेपाललाई हिमावारी नामको आफ्नो स्याटलाइट छोटो अवधिको मौसम पूर्वानुमानमा प्रयोग गर्न सहयोग गरिरहेको छ । यो स्याटलाइट जापानको आकाशमा नै बस्ने गर्छ ।
यो सहयोगमा प्राप्त डेडिकेटेड स्याटलाइट हो । यस बाहेक एफ वाई टु ई नामक चिनियाँ स्याटलाइट पनि नेपालले मौसम पूर्वानुमानका लागि प्रयोग गरिरहेको छ । विभागले दक्ष जनशक्तिको अभाव पनि सधैँ भोग्नुपरेको विभागका कर्मचारीहरूको भनाई छ । ३७ वर्षअघि जल तथा मौसम विज्ञान विभाग खडा हुँदा जति दरबन्दी थियो, त्यतिकै भरमा अहिले पनि मौसम पूर्वानुमान गरिरहेको विभागले जनाएको छ । विभागमा प्रविधि, जनशक्ति लगायत अन्य धेरै कुरामा सुधार भए पनि मौसम सम्बन्धी गरिएका विभिन्न पूर्वानुमान मिल्न भने प्रविधि र जनशक्तिको विकासमा जोड गर्नु पर्ने विभागमा कार्यरत मौसमविदहरुको आग्रह छ ।
अत्याधुनिक प्रविधि र थप दक्ष जनशक्तिको प्रबन्ध सरकारले गरेमा ७ दिने, १० दिने, स्थान विशेष पूर्वानुमान गर्न सकिने त्यसो हुँदा बर्सेनि बढ्दै गएको विषम मौसमी घटना , यसका दुष्परिणाम , सम्भावित जोखिम न्यून गरी जनधनको क्षति रोक्न सकिने मौसमविदहरुको भनाई छ । सरकारले अनुसन्धानको क्षेत्रमा केही लगानी गरेता पनि स्थानीय मौसम र हावापानीमा करिब शून्य लगानी गरेकाले यसतर्फ लगानी बढाउनु पर्ने देखिन्छ ।
अब लागौँ मुख्य विषय बस्तु तर्फ अचेल नेपालमा सामाजिक सञ्जालहरूमा ‘कन्स्पिरेसी थ्योरी’, अर्थात् षडयन्त्रको सिद्धान्तको निकै चर्चा छ । नेपालमा बर्सेनि हुने प्राकृतिक विपत्तिमा ‘कन्स्पिरेसी थ्योरी’ले काम गर्दैन । तर यसपालिको राजनीतिक परिवर्तन सँग अहिलेको अविरल वर्षा र बाढी पहिरोलाई जोडेर हेर्न थालिएको छ । कृत्रिम प्राकृतिक विपत्तिको प्रयोगका रूपमा अथ्र्याउदै यसलाई सम्भावित ‘क्लाउड सिडिङ’ भन्न थालिएको छ । यो कुरालाई पुरै अन्धभक्त भएर विश्वास त गर्न सकिँदैन तर नजरअन्दाज पनि गर्न पनि मिल्दैन ।
(गुगलबाट तानिएको फोटो –तोप प्रयोग गरेर क्लाउड सीडिङ गर्न बादलमा रासायनिक पदार्थ प्रहार गरिदै )

यस अघि पनि गरिब मुलुकहरूलाई धनी मुलुकले गिनि पिग बनाएर अनेकौँ प्रयोग गर्ने गरेको त सबै जानकार छौ । (गिनी पिग मुसा जस्तो देखिने स्तनधारी जनावर हो । वैज्ञानिकहरूले कुनै औषधि उत्पादन गरेमा त्यसको पहिलो परीक्षण गिनी पिगमा गर्दछन् ) । यस्तोमा नेपालमा प्राकृतिक विपत्तिका रूपमा ‘क्लाउड सिडिङ’को प्रयोग त भएको छैन ? धेरैले भन्दै आएको नेपाल राजनीतिक प्रयोगशाला भइरहेको छ । कतै विपद् व्यवस्थापन, कृषि उत्पादन, वन तथा घाँसे मैदानमा हुने आगलागी र अस्वाभाविक उच्च तापक्रम वा खडेरीको व्यवस्थापनजस्ता समस्या समाधान गर्न सहयोग पुग्ने विधि भनिएको ‘क्लाउड सिडिङ’नयाँ प्रयोगका रुपमा नेपाली आकाश र नेपाली जमिन त भएको छैन ?
‘क्लाउड सिडिङ’को इतिहास सन् १९४० को दशकमा अमेरिकाबाट सुरु भए पनि यसको परिणामलाई लिएर अझै पनि आशङ्काहरू गर्ने गरिएको छ । चीन सहित अन्य धेरै देशहरूले यो विधि प्रयोग गरिरहेका छन् । छिमेकी मुलुक भारत ,अस्ट्रेलियामा ,अफ्रिका, कतार लगायतले पनि यो विधिको प्रयोग बेलाबेला गर्ने गरेका छन् । चीनले सन् २०२५ भित्र ५५ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लक्ष्यसहितको मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम ‘क्लाउड सिडिङ’ अन्तर्गत कृत्रिम वर्षा वा हिमपात गर्ने कार्यक्रम तय गरेको बिबिसीले सन २०२१ मै समाचार प्रकाशित गरेको थियो । जुन चीनको भूगोलको झन्डै ६० प्रतिशत हो ।
नेपालको अस्थिर राजनीतिमा भइरहेका प्रयोगहरूको नयाँ रूप कृत्रिम प्राकृतिक विपत्ति ‘क्लाउड सिडिङ’को प्रयोग हो वा होइन अहिले नै पुष्टि हुने भरपर्दो आधार नभएकाले यसलाई भविष्यमा थप सोधी खोजी हुने गरी थाँती राखेर तत्कालका लागि नेपालमा प्राकृतिक विपत्तिबाट जनधनको क्षेती हुनुमा मान्छेकै यी प्राकृतिक संरचना माथि अवैज्ञानिक छेडखानी र अतिक्रमण र दोहन जस्ता पाप कर्मलाई नै बढी जिम्मेवार भएको मान्नु पर्छ ।
१-यो सबै हुनुमा अदूरदर्शी पाप कर्म गर्ने शासकहरू जिम्मेवार छन् ।
२–खोला नदी अतिक्रमण र भौतिक संरचना निर्माण , पहिले खोला र नदीलाई जल देवता र जलदेवी मानेर अतिक्रमण हुनबाट जोगाइन्थ्यो । । अहिले खोला नाला पुरेर वा कृत्रिम मार्ग परिवर्तन गराएर त्यस माथि भौतिक संरचना बनाई छेडखानी गर्ने भू माफियाको पाप कर्म जिम्मेवार छ ।
३ –-भू बनोट ,माटो र चट्टानको प्रकृतिको वैज्ञानिक अध्ययन र भरपर्दो भौगर्भिक विश्लेषण बिना नै विकासको नाममा डोजर चलाइएको छ र त्यसमाथि विज्ञको सल्लाह विपरीत राजनीतिक प्रभाव देखाउन भौतिक पूर्वाधार खडा गरिएका छन् । पहिले अलिक फरक माटो फरक ढुङ्गालाई देउता मानेर संरक्षण गरिन्थ्यो अहिले अतिक्रमण गर्ने राजनीतिक नेताहरूको पाप कर्म जिम्मेवार छ ।
४ – प्रकृतिले नेपाललाई निःशुल्क दिएको अनुपम उपहार बन जङ्गलमा रहेका कठोर प्राकृतिक विपत्तिमा पनि ठिङ्ग उभिइरहन सक्ने सतिसालहरू मासिएका छन् । पहिले पुरानो रुखलाई जङ्गल देवताका रूपमा मानेर जङ्गल संरक्षण गरिन्थ्यो अहिले दोहन गरिन्छ जसमा बन माफियाको पाप कर्म जिम्मेवार छ ।
-अन्तमा अहिलेलाई जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुरक्षित रहने उपाए अपनाएर आफू र आफन्तलाई प्राकृतिक बिपत्ति बाट हुन सक्ने सम्भाबित जोखिमबाट जोगिन र जोगाउन मद्दत पुराऔ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया