
ललितपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोष्टको आइतबार बसेको बैठकले राहत, उद्धार र पुनर्स्थापनासम्बन्धी आठ बुँदे निर्णय गरेको छ।
बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरी मनसुनजन्य विपद् प्रभावितहरूका खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय पनि भएको छ ।
बैठकले प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्न पनि निर्णय गरेको छ। साथै जोखिमयुक्त सडकहरूमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न र नगर्न दिन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।
अवरुद्ध सडकहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सडक विभागलाई पत्राचार गर्ने, अत्यावश्यक सेवा तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमन स्थानीय प्रशासनबिचको समन्वयमा सुचारु गर्न निर्देशन दिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया