ललितपुर । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई कात्तिक २ गतेसम्मको अन्तिम म्याद दिएको छ ।
उक्त समयभित्र उद्योगीहरुले बाँकी रहेको बक्यौता नबुझाए त्यस्ता सबै उद्योगको विद्युत् लाइन काट्ने चेतावनी दिँदै सूचना जारी गरेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार प्राधिकरण सञ्चालक समितिले बक्यौता रकम उठाउने निर्णय गरिसकेको छ र सोही अनुसार कात्तिक २ गतेसम्म बक्यौता नतिर्ने उद्योगहरूको काटिने छ ।
प्रवक्ता ढकालका अनुसार अहिलेसम्म कुनै पनि उद्योगले बक्यौता तिर्न आएका छैनन् । तर, केही उद्योगी भने छलफलका लागि सम्पर्कमा आएका छन् ढकालले भने, “बक्यौता तिर्नुको विकल्प छैन, नतिरे सबैको लाइन काटिन्छ ।”
लामो समयदेखि उद्योगीहरूले टीओडी मिटरको विवरण नभएको भन्दै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको कुल २३ अर्ब ४४ करोडमध्ये विभिन्न खण्ड र चक्रीय जरिवानाबापतको रकम असुल गर्न बाँकी रहेकाले प्राधिकरणले कात्तिक २ गते राति १२ बजेपछि बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्ने तयारी गरिरहेको छ ।
दश वर्षदेखिको उद्योगी र प्राधिकरणबिच यो विवाद चल्दै आएको छ । कुलमान घिसिंले ऊर्जामन्त्रीको कार्यभार सम्हालैकै दिन उद्योगसँग बाँकी रहेको बक्यौतो उठाउने पहिलो निर्ण गरेका थिए । जसअनुसार प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवाल पनि बक्यौता उठाउन सक्रिय देखिएका छन् ।
यसअघि प्राधिकरणले सार्वजनिक सूचना निकालेर बक्यौता रकम एकैचोटि भुक्तानी गर्न नसक्ने उद्योगीका लागि २८ किस्तामा तिर्ने सुविधा समेत दिएको थियो । तर कुनै पनि उद्योगी बक्यौता तिर्ने पक्षमा नदेखिएकाले यसपटक प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता बुझाउन अल्टिमेटम दिएको छ ।
नेपालमा लोडसेडिङको चरम अवस्था हुँदा २०७२ माघदेखि २०७५ वैशाखसम्म औद्योगिक तथा व्यापारिक ग्राहकहरूलाई प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत प्रिमियम शुल्कमा विद्युत् उपलब्ध गराएको थियो ।
कात्तिक २ गतेसम्म बक्यौता नतिर्ने उद्योगको लाइन उक्त दिन रातिको १२ बजेदेखि काटिदिने चेतावनी दिँदै सूचना प्रकाशित गरे पनि हालसम्म सम्राट् र रोल्पा सिमेन्ट बाहेक अन्य उद्योग सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया