महोत्तरी । अहिंसाप्रति सम्पूर्ण मानव जातिलाई जागृत गर्न र सम्पूर्ण जिवात्माप्रति सहानुभूति प्रकट गर्ने पर्वका रुपमा मनाइने छठ पर्वमा मधेशका विभिन्न जिल्लामा रौनक छाएको छ । आज छठपर्वको दोस्रो दिन बर्तालुहरु ‘खरना’ विधिका तयारीमा जुटेका छन् ।
शनिबारदेखि अर्थात् कात्तिक शुक्ल चतुर्थी तिथिबाट सुरु भएको यस पर्वको भने बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा (नउसिनिएको अन्न) खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।

उही ‘नहाय–खाय’ विधिबाट छठपर्वको औपचारिक सुरुवात गरिन्छ । आज पञ्चमी तिथि अर्थात् छठपर्वको दोस्रो दिन बर्तालुहरु ‘खरना’को तयार पारी छठीमैयालाई चढाउने तयारी गर्दैछन् ।
आजको दिन बर्तालुहरुले सूर्योदयपूर्व नै पवित्र स्नान गरी दिनभरि निराहार व्रत बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने परम्परा रहेको छ । दिनभरिको निराहार ब्रत बसेका बर्तालुहरुलेले साँझ कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् । ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको भावमा लिने गरिएको पाइन्छ ।
पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । बर्तालुले ‘खरना’ विधिसँगै प्रसादस्वरुप खाएका खिरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन गरिन्छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेपछि छठपर्व साझा बन्दै गएको छ ।
मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया