२०८२ फाल्गुन ६ | Feb 18, 2026

काठमाडौं महानगरमा फोहोर डढाउन नपाइने, डढाएमा १० हजार जरिबाना

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
2.1k views

ललितपुर। अब देखि काठमाडौं महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर डढाउन नपाइने भएको छ ।

काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै खुला ठाउँमा प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ ।

जाडो याम लागेसँगै आगो ताप्ने र सरसफाईका नाममा फोहोरजन्य वस्तु बाल्ने गर्नाले महानगरको प्रदुषणमा असर पुग्ने भन्दै महानगरले यस्तो निर्णय गरेको हो । महानगरले यहाँको वातावरणलाई ध्यानमा राख्दै प्रदुषण बढाउने फोहोरजन्य वस्तुहरु नबाल्न आग्रह गरेको हो । जाडो याममा फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढ्ने भएकाले यस्ता कार्य नगर्न नगराउन चेतावनी दिएको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन महानगरले यस्तो गरिएको बताएकी छन् । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्ने हुनाले यस्ता क्रियाकलाप नगर्न महानगरले आग्रह गरेको हो ।

यसैगरी सूचनालाई बेवास्ता गरी कसैले अटेर गरेर उक्त कार्य गरेको या गाइएको भेटिएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही र दश हजार रुपयाँ जरीवाना गरिने प्रमुख राईले बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया