ललितपुर । मतादाता नामावली संकलन कार्यलाई सहज र सरल बनाउनका लागि राष्ट्रिय परिचयपत्र बाटै बायोमेट्रिक लिने तयारी गरिएको छ । विहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरुको नेशनल आइडी कार्डबाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताएका छन् । मतदाता नामावली संकलनका विषयमा जेनजी प्रतिनिधिहरुसँग गरिएको छलफलका क्रममा भण्डारीले नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिए ।
धेरैजसो युवा वर्गले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले पनि यस निर्णयले थप सहज हुने बताए । राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकहरु भए अब अनलाइनबाटै मतदाता नामावली संकलन गर्नेहरुको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ । यसले जेन–जीका मागहरु सम्बोधन गर्ने आयोगको विश्वास रहेको भण्डारीले बताए । अध्ययन वा कामका लागि विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने बताए ।
भण्डारीले भने, ‘अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरुले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरुका सबै मागलाई सम्बोधन गर्दछ । अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कुटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ । उहाँहरुले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरुले अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौँ ।’
समय सकिँदै गर्दा नाम दर्ता गर्न धेरै चाप रहेकोले समय थप हुन सक्ने बताए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया