२०८२ फाल्गुन ६ | Feb 18, 2026

राजनीतिक नेतृत्व सही नहुँदा तलसम्म खराब देखिँदो रैछ : मन्त्री घिसिङ

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १०
|
816 views

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्व सही नहुँदा तलसम्म खराब देखिएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री घिसिङले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको बताए । उनले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको प्रष्ट्याए।

सम्मेलन सम्बोधनका क्रममा मन्त्री घिसिङले भने, “सेवा प्रवाह, सुशासन, विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो, राजनीतिक नेतृत्व सही नहुँदासम्म तलसम्म खराब देखिँदो रैछ ।” उनले मुलुकका राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको समेत बताए ।

पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न रोकेको दाबी गर्दै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारले विकासको बाधक त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने बताए। मुलुक निर्वाचनमय भइसकेको जनाउँदै उनले तोकिएको समयमै निर्वाचन हुनेमा आशङ्का नगर्न समेत आग्रह गरे ।

उनले भने, “सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएका छन्, तोकिएको समयमै निर्वाचन हुन्छ, अहिले वुद्धिविवेक लगाउने समय हो, देशलाई सही दिशा दिन सक्ने नेतृत्व छान्नुस् ।”

वर्तमान सरकार सुशासनमार्फत जनतामा आशा जगाउन केन्द्रित रहेको मन्त्री घिसिङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया