२०८२ फाल्गुन ६ | Feb 18, 2026

२५ लाख पुरस्कारको गाउँछ गीत रियालिटी शो गाउँछ गीत २०८२ घोषणा : बिजनेसपाटी मिडिया पार्टनर (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १३
|
5.1k views

ललितपुर ।  प्रतिभाको खोजी, मौलिकताको सम्मान: गाउँछ गीत को साङ्‌गीतिक अभियान नारा सहित गायन रियालिटी शो गाउँछ गीत २०८२ को  घोषणा  भएको छ । २५ लाख पुरस्कारको राशिको यो शो को आज एक पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको हो ।  बिजनेसपाटी मिडिया प्रालि मिडिया पार्टनर रहेको यो शो आगामी पुस बाट छाँयाकन हुने र माघ दोस्रो साताबाट प्राइम टेलिभिजनबाट प्रसारणमा आउने शो का निर्देशक अर्जुन पोखरेलले जानकारी दिएका छन् । 

घोषणा कार्यक्रममा बोल्ने वक्ताहरूले यो शो को सफलताको कामना सँगै उत्कृष्ट हुने अपेक्षा गरेका थिए ।  प्रतियोगिताको निर्णायकहरूमा विश्व भारती विश्वविद्यालय, शान्ति निकेतनमा दीक्षित शास्त्रीय तथा सुगम सङ्‌गीतको वरिष्ठ गायिका संगीतिज्ञ  सङ्गीता राना प्रधान, सङ्‌गीत मै विद्यावारिधि गर्दै गरेका सफल गायक तथा सङ्‌गीतकार थानेश्वर गौतम  र आधुनिक देखि पार्श्व गायनमा लोकप्रियता कमाएकी गायिका साहिमा श्रेष्ठ रहेका छन् ।  । यस गायन प्रतियोगितालाई उद्घोषक द्वय स्टान्डअप कमेडियन सीता न्यौपाने र अनुप भण्डारीले सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि गीतकार तथा नेवानीका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारी, पत्रकार ऋषि धमला, बिजनेसपाटी मिडिया प्रालिका अध्यक्ष हरिप्रसाद तिमल्सिना लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए । 

रोजी शर्माको परिकल्पनामा एच एस साइना कृयसनको निर्माणमा हुने प्रतियोगिता नेपाल भित्र अथवा नेपाल बाहिर छरिएर रहेका प्रतिभाहरूलाई एउटै मञ्चमा समेटेर उनीहरूको गायन क्षमतालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यका साथ प्रारम्भ गरिएको  आयोजकको भनाई छ । यो कार्यक्रमले सङ्गीतको मौलिकता, विविधता र सांस्कृतिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा स‌ङ्गीत प्रति उत्साह र प्रेरणा जगाउने अपेक्षा राखेको छ । यस प्रतियोगितामा १६ वर्ष भन्दा माथि सबै उमेर समूहका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन् । 

विभिन्न अडिसन मार्फत छनोट भएका प्रतिस्पर्धीहरूलाई वरिष्ठ संगीतज्ञ तथा प्रशिक्षकबाट प्रशिक्षण दिएर प्रतिस्पर्धात्मक यात्रामा सहभागी गराइने  साथै, सहभागी कलाकारहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाई व्यावसायिक साङ्गीतिक यात्राका लागि अवसर र मार्ग निर्देशन समेत प्रदान गरिने आयोजकको भनाई छ । 

यो प्रतियोगिता नेपाली सङ्‌गीत क्षेत्रमा एक कोशे ढुङ्‌गा साबित हुने विश्वास गरिएको निर्देशक पोख्रेलले बताएका छन् ।  प्रतियोगिताको नियम र अडिसनको लागि आधिकारिक फेसबुक पेज, वेबसाइट हरूमा पनि हेर्न सकिने र डिजिटल अडिसन खुला गरिएको पनि आयोजकले जानकारी दिएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया