२०८२ फाल्गुन ६ | Feb 18, 2026

हेटौंडा बजार क्षेत्रका संरचनाहरु भग्नावशेषमा परिणत, प्रभावितलाई आवास व्यवस्थाका लागि उपमहानगरपालिकाले सहजिकरण गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २१
|
1.3k views

हेटौडा । सडक विस्तारका क्रममा मंसिर २० गते शनिबार सडक डिभिजन कार्यालय हेटौंडाले त्यहाँको मुख्य बजार क्षेत्रका संरचनाहरु भत्काउँदा यतिबेला बजार क्षेत्र भग्नावशेषमा परिणत भएको छ ।

पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाको केन्द्र रेखादेखि २५–२५ गज भित्र यसअघि नै रेखांकन गरिएको र उक्त क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो । दिइएको समयअवधिमा पनि त्यहाँका घरटहरा र संरचनाहरु खाली गर्न सम्बन्धित पक्षले आलटाल गरेपछि सडक डिभिजन कार्यालयले शनिबार डोजल चलाएको छ । कार्यालयको डोजरले त्यहाँका करिब ५०० घरटहरा भत्काएको हो ।

सडक विस्तारका क्रममा विस्थापित भएका परिवार तथा व्यवसायीलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका कार्यालयको आइतबार बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो ।

कतिपय घर–टहराका झ्याल र भित्ताहरु क्षतविक्षत भएपछि त्यहाँका व्यवसायीले रातभर लगाएर आ–आफ्ना सामान अन्यत्र सारेका छन् । आज विहान बसेको कार्यपालिकाको बैठकले सडक विस्तारबाट प्रभावित भई जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीहरुको वडा कार्यालय मार्फत विवरण संकलन गरी मालपोत कार्यालयबाट विवरण जाँच गराई घरवारविहीनलाई आयोजनामार्फत आवास व्यवस्थापन गर्न उपमहानगरपालिकाले सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो ।

पालिकाले प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । प्रभावितहरुको भवन निर्माणका लागि सहजता कायम गर्न ‘फाष्ट ट्रयाक’ प्रक्रियाबाट प्राविधिक सहयोग सहित नक्सापास लगायतका सेवाहरु प्रवाह गरिने निर्णय भएको छ ।

पालिकाको आज बैठकले बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको रुपमा सञ्चालन गर्न नगर सभा मार्फत संघीय सरकारलाई अनुरोध गर्ने निर्णय उपमहानगरपालिकाले गरेको छ भने प्रभावितहरुको भवन निर्माणमा नक्सापास गर्न लाग्ने दस्तुरको २०२० वर्गफिट सम्मको नक्सा पास दस्तुर छुट दिन नगर सभा समक्ष पेश गर्ने र घर निर्माणका लागि सामग्रीहरु सुलभ रुपमा उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय पनि उपमहानगरले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया