२०८२ फाल्गुन ६ | Feb 18, 2026

रिलायन्स स्पिनिङ्ग मिल्सले गर्यो प्रथम चरणको आईपीओमा निष्काशन

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २२
|
1.4k views

ललितपुर । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आजदेखि (मंसिर २२ गते) प्रथम चरणको आईपीओ निष्काशन गरेको छ । प्रथम चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

यसका लागि इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा मंसिर २५ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ७ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया