ललितपुर। पछिल्ला पाँच दिनदेखि घटिरहेको नेप्से परिसूचक आज छैटौं कारोबार दिन पनि घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको हो ।
सोमबार नेप्से परिसूचक ३.०२ अंक घटेर २६०६.६७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।
विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो । केही नीतिगत सहजताका बाबजुत पनि राजनीतिक अस्थिरता, चुनावको अनिश्चितताजस्ता प्रमुख कारण लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन ।
सोमबार ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा रह्यो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडमा खुम्चियो ।
आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन इंगवा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ५.१६ प्रतिशत घटेको छ।
यस्तै, कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सागर डिष्टिलरीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने पियोर इनर्जीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढे । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटे ।













फेसबुकबाट तपाईको प्रतिक्रिया