२०८२ फाल्गुन ६ | Feb 18, 2026

एक सय राजनीतिक दलले दिए समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २४
|
867 views

ललितपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक सय राजनीतिक दलले समानुपातिका निर्वाचन प्रणालीका लागि आवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले आयोगमा आवेदन दिएका हुन् ।

निर्वाचन आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । उक्त समयसीमाभित्र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ १०० राजनीतिक दलले निवेदन दिएका हुन् ।

यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ । आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया