२०८२ फाल्गुन ६ | Feb 18, 2026

भदौको जेनजी आन्दोलन र असोजको बाढी पहिरोको क्षतिमा कूल ४ अर्ब ३९ करोड ८८ लाख बीमा भुक्तानी

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २४
|
867 views

ललितपुर। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र असोजमा गएको बाढी पहिरोबाट पुगेको क्षतिमा बीमा कम्पनीहरुले कूल ४ अर्ब ३९ करोड ८८ लाख बीमा भुक्तानी गरिसकिएको नेपाल बीमा प्राधिकरणले दावी गरेका छन् ।

जेनजी आन्दोलनको क्षतिमा ४ अर्ब ३८ करोड र असोजको बाढी पहिरोको क्षतिमा १ करोड ८८ लाख बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार जेनजी आन्दोलनका क्रममा २३ अर्ब ४४ करोड तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा ४ अर्ब ४ करोड प्रारम्भिक दाबी परेको छ ।

प्राधिकरणका अनुसार गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोडमध्ये करिव ३ अर्ब १२ करोड २७ लाख र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४८ करोडमध्ये करिव १ अर्ब ९ करोड भुक्तानी भएको हो ।

यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव ५५ करोड ५५ लाख दाबी रकममध्ये करिव ६ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ६६ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ४९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणले जननाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया