२०८२ फाल्गुन ६ | Feb 18, 2026

सालपा विकास बैंकको प्रथम चरणको आईपीओ निष्काशन

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २५
|
1.1k views

ललितपुर । सालपा विकास बैंक लिमिटेडले आज (मंसिर २५ गते) देखि प्रथम चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले यसपटक वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

यसअघि बैंकले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये बैंकले १० प्रतिशतले हुन आउने अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिनेछ।

यसका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया